विकास र वातावरण एकअर्काका परिपूरक हुन् भन्ने कुराको पर्याप्त ज्ञान नहुँदा केही समय अगाडिसम्म पनि वातावरणलाई विकासभन्दा पर राखेर विश्लेषण गरिन्थ्यो । तर आजको अवस्था बदलिएको छ, विकाससँगै वातावरणका सवालहरू पनि सँगसँगै आउन थालेका छन् । सन् १९५० को औद्योगिक क्रान्तिपश्चात् विकसित देशहरूमा आर्थिक विकासले राम्रैसँग गति लियो । विकासका चरम क्रियाकलापहरू सँगै वातावरणमा क्रमशः दुष्प्रभावहरू देखिन थाले । वातावरण विनाश विश्वभरि नै चासो र चिन्ताको विषय बन्यो । वातावरण र दिगो विकासका लागि विश्वव्यापी प्रयासहरू हुन थाले । वातावरणको बढ्दो विनाशलाई कम गर्न तथा मानव स्वास्थ्यमा परेको नकारात्मक प्रभाव न्यून गर्न थुप्रै अन्तर्राष्ट्रिय सम्मेलनहरू सम्पन्न भए । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न भएको पृथ्वी सम्मेलनले दिगो विकासमा जोड दिँदै विश्वको ध्यान दिगो विकासतिर केन्द्रित गर्न सफल भयो । सरल भाषामा भन्नुपर्दा दिगो विकास भनेको भावी पुस्ताको बाँच्ने आधारलाई खलल नपुर्याई वर्तमानका आवश्यकताहरू पूरा गर्नु हो ।
वातावरण र दिगो विकासका लागि अन्तर्राष्ट्रिय रूपमा भएका केही चर्चित पहलकदमीहरू:
- सन् १९७२ मा स्विडेनको स्टकहोममा वातावरण र मानव विषयको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सम्मेलन
- सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा पृथ्वी सम्मेलन
- सन् २००२ मा दिगो विकासको विश्व शिखर सम्मेलन
- सन् २०१२ मा ब्राजिलको रियो दि जेनेरियोमा रियो प्लस २० अथवा पृथ्वी सम्मेलन
औद्योगिकीकरणकै कारण वायु, जल र जमिन प्रदूषित हुन थाल्यो । विकसित देशहरूमा भएको विकासका आयामहरूले विकासोन्मुख र अल्पविकसित देशहरूमा नकारात्मक असर पारिरहेको छ । ओजोन तहको क्षयीकरण र हरितगृह ग्यास उत्सर्जन बढ्दै गएकाले मानिस र समग्र पृथ्वीको अस्तित्व नै संकटमा पर्न थालेका उदाहरणहरू प्रशस्त भेटिन थालेका छन् । विकास र वातावरणलाई सन्तुलित रूपमा अघि बढाउनु आजको विश्वको आवश्यकता हो ।
वातावरण भन्नासाथ जल, जमिन, वायु, ऊर्जा र आकाशलाई भुल्नुहुँदैन । यी नै पञ्चतत्वको सन्तुलनमा पृथ्वीको अस्तित्व जीवन्त भएको छ र पृथ्वीमा जीवन सम्भव भएको छ । प्रकृति हामी सबैको साझा बासस्थान भएकाले प्रकृतिसँग मानिसको अत्यन्त निकट सम्बन्ध रहेको हुन्छ । तर विकास सँगसँगै वातावरणीय चुनौतीहरू विश्वभरि प्रमुख समस्याका रूपमा देखिएका छन् । विकसित देशहरूको तुलनामा गरिब देशहरूमा वातावरणसँग जोडिएका समस्याहरू विकराल रूपमा रहेका छन् । वन फँडानी तथा वन क्षयीकरण, जैविक विविधतामा ह्रास, जलवायु परिवर्तन, प्रदूषण, पिउने पानीको अभाव जस्ता समस्याहरूबाट गरिब देशहरू ग्रसित छन् ।
विकासका नयाँ आयाम सँगै वातावरणमा डरलाग्दा समस्याहरू देखिन थालेका छन्, जसमध्ये जलवायु परिवर्तन आजको विश्वमा अत्यन्त चासो र चिन्ताको विषय बनेको छ । सन् १९७० को दशकबाट पृथ्वी तातो हुँदैछ भन्ने कुरा उठ्न थाल्यो र वैज्ञानिक समुदायबीच यो छलफल र बहसको विषय बन्यो । जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी मञ्च (IPCC) ले जलवायु परिवर्तन भइरहेको तथ्य पुष्टि गरिसकेको छ । मानवीय क्रियाकलापकै कारण उत्सर्जित हरितगृह ग्यासले पृथ्वीको तापक्रम बढाइरहेको छ र विश्वव्यापी उष्णता (Global Warming) जलवायु परिवर्तनको कारक बनेको छ । जलवायु परिवर्तनमा मुख्य भूमिका रहेका हरितगृह ग्यासहरूमा कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड लगायतका मुख्य ग्यासहरू छन् ।
हरितगृह ग्यास विना पृथ्वीको तापक्रम माइनस १८ डिग्री सेल्सियस पुग्छ, जहाँ हामी जीवनको कल्पना गर्न सक्दैनौं । पृथ्वीको तापक्रमलाई १५ डिग्री सेल्सियसमा सन्तुलन राख्ने हरितगृह ग्यासको मात्रा बढ्दो सहरीकरण, वन विनाश, औद्योगिकीकरण आदिका कारण बढ्दै गइरहेको छ । हरितगृह ग्यास उत्सर्जन गर्नमा विकसित देशहरूको भूमिका धेरै भए तापनि जलवायु परिवर्तनको असर गरिब तथा अविकसित देशहरूले भोगिरहेका छन् । नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा नगण्य मात्रामा (०.०२७ प्रतिशत) हरितगृह ग्यास उत्सर्जन गरे पनि जलवायु परिवर्तनका कारण नेपालले उच्च जोखिम खेपिरहेको छ । हिमाली देश भएकाले पनि हामी बढी जोखिममा छौं ।
भौगोलिक रूपले सानो भए पनि ११८ वटा पारिस्थितिक प्रणाली (Ecosystem) रहेको नेपाल जैविक विविधताले सम्पन्न देशहरूको सूचीमा विश्वको २५औँ स्थानमा र एसियाको ११औं स्थानमा छ । समुद्री सतहबाट ६० मिटरदेखि लिएर सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.) सम्म फैलिएको भूगोल नै जैविक विविधताका निम्ति पर्याप्त छ । नेपालमा साना–ठूला गरेर ६००० जति नदीनाला तथा खोलाहरू छन् । त्यसैगरी पछिल्लो तथ्याङ्क अनुसार नेपालको कुल भूभागको ४१.६९ प्रतिशत वन क्षेत्र र ४.३८ प्रतिशत झाडी तथा बुट्यान गरी करिब ४५.३१ प्रतिशत भूभाग वनजङ्गलले ढाकेको छ । यो भूमि हजारौं जडीबुटीका प्रजातिहरू, फूल फुल्ने प्रजातिहरू, स्तनधारी जीवजन्तु तथा चराचुरुङ्गीहरूको मुख्य बासस्थान हो ।
नेपाल जैविक विविधता रणनीति–२००२ ले नेपालको पारिस्थितिक प्रणालीलाई पाँच भागमा छुट्याएको छ; जसमा वन क्षेत्र, चरण क्षेत्र, सिमसार क्षेत्र, पर्वत र कृषिमा आधारित पारिस्थितिक प्रणाली पर्दछन् । वैज्ञानिकहरूका अनुसार यीमध्ये सबैभन्दा उत्पादनशील क्षेत्र भनेर सिमसार क्षेत्रलाई चिनिन्छ । सिमसार क्षेत्रले नेपालको करिब ५ प्रतिशत क्षेत्र ओगटेको छ । नेपालका सिमसारहरूमध्ये अहिलेसम्म कोशीटप्पु, बीसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड, गोक्यो ताल, रारा ताल, जगदीशपुर ताल, फोक्सुण्डो, माइपोखरी र पोखरा उपत्यकाका तालहरू गरी जम्मा १० वटा सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत भइसकेका छन् । जम्मा ३४२ जातका स्थानीय वनस्पति प्रजातिहरूको बासस्थान रहेको नेपालमा औषधीय गुण भएका वनस्पतिहरू र गैरकाष्ठ वन पैदावारहरू पनि प्रचुर मात्रामा पाइन्छन् । यसैगरी नेपालमा संरक्षित क्षेत्रले हालसम्म २३.३९ प्रतिशत भूभाग ओगटेको छ; जसमा १२ वटा राष्ट्रिय निकुञ्ज, ६ वटा संरक्षण क्षेत्र, १ वटा वन्यजन्तु आरक्ष र एउटा सिकार आरक्ष रहेका छन् । प्राकृतिक स्रोतको उचित व्यवस्थापन गर्दै विकासका खाका तयार गर्ने र कार्यान्वयन गर्ने हो भने मात्र पनि नेपाल समृद्धिको बाटोमा अघि बढ्न सक्छ ।
विश्वमा बढ्दै गएको वनविनाश, प्राकृतिक स्रोतको अत्यधिक र अवैज्ञानिक दोहन, मरुभूमीकरण, अव्यवस्थित सहरीकरण र यसबाट मानव, जीवजन्तु र वनस्पति वा समग्र पारिस्थितिक प्रणालीमा पर्न गएको नकारात्मक प्रभावले मानव सभ्यताको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा भएको छ । मानवीय क्रियाकलापका कारण वातावरणमाथि परिरहेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न जनस्तरबाटै जनचेतनाको विकास गर्नुपर्छ । सबैलाई वातावरण संरक्षण र संवर्धनप्रति जिम्मेवार बन्न र संरक्षणको भावना जागृत गराउन प्रेरित गर्नु आजको महत्त्वपूर्ण आवश्यकता हो ।
जब हामी वातावरण संरक्षण र दिगो व्यवस्थापनको कुरा गर्छौं, हामी आफू वातावरणप्रति कति सचेत छौं, त्यसलाई बुझ्न सक्नुपर्छ । हाम्रो आचरण, हाम्रो प्रवृत्ति र हाम्रो व्यवहारमा सुधार नहुने हो भने हामीमा भएको चेतनाको केही महत्त्व हुन्न । वातावरणको संरक्षण, संवर्धन र दिगो सदुपयोग विना अबको विकास दिगो हुन सक्दैन । त्यसैले आजैदेखि वातावरणप्रति सचेत बनौं, दिगो विकासको पथमा हिडौं र अरूलाई पनि प्रेरित गरौं । हाम्रा भावी पिँढीलाई सुन्दर र हरियाली पृथ्वी हस्तान्तरण गरौं ।